
एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित निवासमा सोमबार साँझ बसेको झन्डै साढे दुई घण्टा लामो बैठकलेे अझै पनि आन्दोलन स्थगित गरेर वार्तामा आउन विपक्षीहरूको ध्यानाकर्षण गराएको छ ।
आन्दोलन राष्ट्रहितमा नरहेको भन्दै सहमतिबाटै संविधान जारी गर्ने प्रक्रियाका लागि वार्ता र संवादमा र्फकन दुई दलले आग्रह गरेका हुन् ।
'विपक्षी मोर्चा आन्दोलनको सुरुङभित्र पस्ने हो भने हामी पनि संविधानसभाको प्रक्रियाभित्र प्रवेश गर्छौं,' कांग्रेस उपसभापति रामचन्द्र पौडेलले कान्तिपुरसँग भने, 'एमाओवादीसहितको विपक्षी मोर्चाले घोषणा गरेको आन्दोलन कुनै हालतमा राष्ट्रहितमा नभएकाले स्थगित गरी संवादलाई निरन्तरता दिन अपिल गरेका हौं ।'
विपक्षी मोर्चाले सोमबार आमहडतालसहितको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
दुई दलको बैठकले संविधानसभाबाटै संविधान जारी गर्नका लागि जनमत बनाउन सबैमा अपिलसमेत गरेको छ । एमाले प्रमुख सचेतक अग्नि खरेलले विपक्षी मोर्चालाई आन्दोलन स्थगित गरेर संवादमा आउन अपिल गरे पनि अब प्रक्रिया पनि अघि बढ्ने जनाए । विपक्षीले आन्दोलन र वार्ता सँगै लैजाने निर्णय गरेका छन् । 'हामी पनि प्रक्रिया र वार्तालाई सँगसँगै अघि बढाउँछौं,' प्रमुख सचेतक खरेलले भने ।
विपक्षी मोर्चाले आन्दोलनलाई प्राथमिकतामा राखेको र जनतालाई देखाउनका लागि मात्रै वार्ता भनिरहेको निष्कर्ष दुई दलको छ । त्यसैले अब प्रक्रिया अघि बढाउन सभाध्यक्षलाई आग्रह गर्ने निचोडमा पुगेको ती दलका नेताले बताए ।
दुई दलको बैठकमा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति पौडेल, महामन्त्री कृष्ण सिटौला, मन्त्रीद्वय नरहरि आचार्य र महेश आचार्य थिए । एमालेबाट अध्यक्ष ओली, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, विद्या भण्डारी, उपमहासचिव विष्णु पौडेल र प्रमुख सचेतक खरेल थिए । सोमबार दिउँसै कांग्रेस र एमालेका प्रमुख सचेतकले नेम्वाङलाई भेटेर प्रक्रिया अघि बढाउन सुझाव दिएका थिए । विपक्षी मोर्चाको आग्रहका कारण संविधानसभाको प्रक्रिया माघ २९ देखि स्थगित छ । प्रक्रिया स्थगित हुनु अघिदेखि नै प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि अपिल गरेका थिए ।
प्रक्रिया स्थगित गरे वार्तामा बस्न सक्ने संकेत विपक्षीले दिएपछि संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित गर्न सत्तारूढ दल पनि तयार भएका थिए । बैठक स्थगित भएको अवस्थामा दलहरूबीच अनौपचारिक वार्ता मात्र भए र विषय प्रवेश गरेर औपचारिक छलफल नै भएन । यही बीचमा विपक्षी मोर्चाले राजधानीमा ठूलो प्रदर्शनसहितको कार्यक्रमसमेत गरेको थियो । आइतबार दोस्रो चरणका आन्दोलन घोषणा गर्नुअघि पनि प्रधानमन्त्रीले विपक्षी मोर्चाका नेताहरूलाई हतार नगर्न आग्रह गरेका थिए ।