काठमाडौ, चैत्र १ - सत्ता संघर्ष, राजनीतिक एजेन्डा, व्यक्तिगत टकरावलगायत कारणले कुनै बेला फुटेका दलहरू क्रमशः एकतातर्फ सोझिएका छन् । एकीकरण उन्मुख अधिकांश दल पहिलो संविधानसभामा उल्लेख्य सिट ल्याएका तर दोस्रोमा फुटका कारण रक्षात्मक बन्न पुगेका हुन् ।
उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल अशोक राई नेतृत्वको संघीय समाजवादीसँग मिल्ने अन्तिम तयारीमा छ । सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टी र अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टी माघ १७ गते एकीकृत भए ।
कमल थापा नेतृत्वको राप्रपा नेपाल र पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा औपचारिक रूपले जोडिने मेलोमा आइसके । स्रोतका अनुसार उनीहरू एक साताभित्रै एकता घोषणा गर्दै छन् । उनीहरूले राजतन्त्रको मुद्दा थाती राख्ने र धर्मनिरपेक्षताबारे जनमतसंग्रहमा जाने लाइन तय गरिसके । राजतन्त्रसम्बन्धी अडानमा कायम राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीले अलग्गिएर नयाँ दल खोल्ने घोषणा गरिसकेका छन् ।
पहिचानसहितको संघीयता माग्नेदेखि राजतन्त्र फर्काउनेसम्मका पार्टीहरू
आफ्ना मुद्दा स्थापित गर्न शक्ति विस्तारको सुरमा लागेका हुन् । पाँच चिरामा विभक्त संघीय लिम्बुवान राज्यपरिषद् दोस्रो चुनावमा शर्मनाक पराजयपछि कुमार लिङ्देनको नेतृत्वमा एकै भएको छ । अरुणपूर्वका नौ जिल्लामा मात्रै होइन, काठमाडौंमा समेत उनीहरू एकताको सन्देश दिन खोजिरहेका छन् । लिम्बुवान र प्रेम खाती नेतृत्वको खसान संयुक्त संघर्ष समितिबीच चैतको पहिलो साता मोर्चाबन्दी हुने लिङ्देनले खुलासा गरे । 'तत्काल पार्टी एक नभए पनि एउटै चुनाव चिह्न र घोषणापत्र बनाएर निर्वाचनमा जाने सहमति भइसकेको छ,' उनले कान्तिपुरसँग खुलाए, 'एक साताभित्र मेचीको लिम्बुवान र कालीको खसानबीच मोर्चाबन्दी गरेर नयाँ सन्देश दिँदै छौं ।'
एकताको यो बाटोमा प्रमुख विपक्षी दल एमाओवादी र त्यसबाटै फुटेको मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसमेत छन् । वैद्य माओवादीका एक नेताका अनुसार एकताका लागि उपयुक्त समयको खोजी भइरहेको छ । आफूबाट फुटेर गएको नेत्रविक्रम चन्दको क्रियाशीलताले वैद्यलाई एकताका लागि बाध्य बनाइरहेको एक निकटस्थले बताए ।
तत्काल एकता गर्न नसकिने भए पनि मुद्दाका आधारमा लिम्बुवान पार्टी, बुद्ध तामाङ नेतृत्वको आदिवासी राष्ट्रिय पार्टी, पासाङ शेर्पाको संघीय लोकतान्त्रिक पार्टी, केशवमान शाक्यको नेपाः राष्ट्रिय पार्टी, एमएस थापाको राष्ट्रिय जनमुक्ति पार्टी, आरके खम्बूको खम्बुवान राष्ट्रिय मोर्चा र भानुराम थारू अध्यक्ष रहेको थरुहट तराई पार्टीबीच चैतको पहिलो साता मोर्चाबन्दी घोषणा हुँदै छ । लिङ्देनका अनुसार अघिल्लो चुनावमा भएको पराजयबाट सिक्दै आगामी चुनावमा यी दल एउटै चिह्न लिएर लड्नेछन् । त्यसलाई उनीहरूले 'पहिचानसहितको संघीय गठबन्धन' नाम दिएका छन् ।
यी सात साना दल, खाती नेतृत्वको खसान संयुक्त संघर्ष समितिबीच एकताको सम्भावना भए पनि मिल्न लागेका संघीय समाजवादी पार्टी र फोरम नेपालसँग भने एकताको सम्भावना इन्कार गर्छन्, अरू साना दलहरू । 'हामी अशोकजी र उपेन्द्रजीसँग मिल्न सक्दैनौं, किनकि उहाँहरू अहिले पनि उही एकात्मक खालकै पार्टी बनाउन खोज्दै हुनुहुन्छ,' लिम्बुवानका अर्का एक नेता भन्छन्, 'हामी संघीय ढाँचाको पार्टीका पक्षमा छौं ।'
साना दलहरू एकतालाई आवश्यकताभन्दा बढी बाध्यता मान्छन् । पहिचान, संघीयता, समानुपातिक प्रणालीजस्ता एजेन्डाहरू दोस्रो सभा चुनावमा स्थापित गराउन नसकिएको उनीहरू स्विकार्छन् । पार्टी एक बनाएर जनतामा शक्तिशाली ढंगले जाने र ठूला दलहरूको प्रतिवाद गर्ने साना दलका शीर्ष नेताहरूको रणनीति छ ।
पहिलो सभा चुनावमा रातारात उदाएका फोरम नेपाल, तमलोपालगायत दलहरू सत्ता संघर्षकै दौरानमा छिन्नभिन्न भए । राजनीतिशास्त्री कृष्ण खनालका अनुसार चुनावलाई लक्षित गर्दै भएको एकता कति दिगो हुन्छ, केही भन्न सकिन्न ।
'सडकमा शक्ति देखाएर मात्रै नहुने रहेछ, सिट संख्या नै चाहिने रहेछ भन्ने उनीहरूमा पर्न थालेकाले एक ठाउँ आउन थालेका हुन्,' खनाल भन्छन्, 'तत्कालको स्वार्थ सोचेर एकता गर्ने चलन पुरानै हो ।'