बारा, फाल्गुन ३० - भारतको विभिन्न ठाउँमा बालश्रमको चपेटामा परेका सात बालकलाई शनिवार उद्दार गरी परिवारको जिम्मा लगाइएको छ । एक वर्षदेखि भारतको बैंगलोर, मुम्वईलगायतका स्थानहरुमा बालश्रमिकको रुपमा काम गर्दै आएका ति बालकहरुको उद्दार गरिएको हो ।
भारतको बैंगलोरमा रहेको शिवाजी चाँदनी चोक भन्ने ठाउँमा रहेको ब्याग बनाउने कारखानामा काम गरी रहेको अवस्थामा भारतीय प्रहरीले छापामारी गरी बालकहरुको उद्दार गरी नेपाल प्रहरीलाई जिम्मा लगाएको हो ।
उद्दार गरिएका बालक बारा र रौतहटका हुन् । भारतीय प्रहरीले बालकको उद्दार गरी बैगलेार तथा मुज्जफरपुरमा बाल गृहमा राखेको थियो । एजेन्टको माध्यमले उनीहरु त्यहाँ पुगेका थिए । उद्दार गरिएकोमा बाराको गढीमाई १६ पिलुवाका १४ वर्षीय रोशन बुढाथोकी, इनर्वा ९ का १५ वर्षीय रामपुकार पटेल, पिपरपाती ९ का १३ वर्षीय होरिलकुमार, वडा ५ का १५ वर्षीय कामेश्वर यादव, वडा २ का १२ वर्षीय प्रदीप पासवान, रौतहट भगवानपुर ५ का १४ वर्षीय महम्मद अंजारुल र ठेगाना नखुलेका रौतहटकै महम्मद जहरुल छन् ।