बलात्कृत बालिकाको शव पाँच दिनदेखि सडकमै - nponnews
Headlines News :
Home » » बलात्कृत बालिकाको शव पाँच दिनदेखि सडकमै

बलात्कृत बालिकाको शव पाँच दिनदेखि सडकमै

Written By Unknown on Saturday, 14 March 2015 | 03:38

गृहमन्त्री र बाराका सिडिओको राजीनामा मागियो

सुभाषप्रसाद साह
३० फागुन, बारा । बलात्कारपछि उपचारका क्रममा मृत्यु भएकी बारा सदरमुकाम कलैया-८ निवासी ७ बर्षीया वालिकाको शव शनिबार पाँचौं दिन पनि कलैयाको सडकमै छ ।

कलैयामा शनिबार पनि स्थानीयवासीको प्रदर्शन जारी छ । ‘बेटी बचाउँ संघर्ष समिति’को अगुवाइमा विभिन्न सात सुत्रीय मागसहित भइरहेको आन्दोलनले कलैयाका साथै वरपरका क्षेत्रसमेत प्रभावित भएका छन् ।
कलैयाबाट आवत जावत गर्ने यातायातका सवारी साधन शनिबार पनि पूर्ण रुपले बन्द छन् । व्यापार तथा कलकारखाना बन्द भएका कारण नागरिकलाई दैनिक उपभोग्यका सरसमान खरिद गर्न समस्या भएको छ । पाँच दिनदेखि लगातार भइरहेको प्रदर्शन र बन्दका कारण अस्तव्यस्त भएको कलैया क्षेत्रको माहौल अझै पन साम्य हुन सकेको छैन । आन्दोलनकारीहरु आफ्नो मागको अडानमा छन् ।
नेपाल सरकार र स्थानीय प्रशासन गम्भीर नभएको उनीहरुको गुनासो छ । स्थानीयवासीले गृहमन्त्री वामदेव गौतम र बाराका प्रमुख जिल्ला अधिकारीको समेत राजीनामा माग्न थालेका छन् ।
आन्दोलनका अगुवा तथा बेटी बचाउँ संघर्ष समितिका अध्यक्ष प्रमोदप्रसाद गुप्ता सरकारले आन्दोलनको मर्म नबुझे आन्दोलनलाई झन कडा बनाउँदै लग्ने चेतावनी दिएका छन् । ‘पीडित र कलैयाबासीको साधारण मागलाई समेत पूरा नगरी नेपाल सरकारले गैरजिम्मेवारी प्रस्तुती गरिरहेको छ,’ अध्यक्ष गुप्ताले भने-‘तर कलैयाबासीको आन्दोलन पीडितको माग सम्बोधन नभएसम्म जारी रहन्छ ।’

आफ्नै सुरक्षाका लागि गरिएको आन्दोलन भए पनि पाँच दिन बितिसक्दा अहिले कलैयाबासीहरुलाई समस्या पर्न थालेको छ । सरकारले कलैयाको बेटी बचाउँ आन्दोलनलाई तत्कालै उचित सम्बोधन नगर्दा नागरिक मारमा परेको बारा नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरीले बताए ।
‘तत्काल सम्बोधन गर्न सकिने मागलाई पूरा गरी जिम्मेवार सरकारको उदाहरण दिनुपर्छ, अध्यक्ष चौधरीले भने-‘राहत बाहेक कानुनी माग तत्कालै पूरा गर्न नसकिने भएकाले त्यसबारेमा गम्भीर छलफल गरेर भए पनि कडा कानुनको निर्माण गर्ने प्रतिवद्धता आवश्यक छ ।’
बालबालिकामाथि हुने यस्ता जघन्य आपराधमा आपराधीलाई कारवाही गर्नका लागि बर्तमान कानुन नै फितलो रहेकाले कडा कानुन बनाई अपराधीलाई कारवाही गरे यस्ता आपराध घट्ने अखिल नेपाल महिला संघ बाराकी प्रचार बिभाग प्रमुख अनिता साहले बताइन् ।
‘सरकारले नचाहेर मात्र आन्दोलन बढिरहेको हो’ बेटी बचाउँ संघर्ष समितिका सचिव मुकेश साहले भने-‘सात सुत्रीय मागमा शान्ति सुरक्षाको ग्यारेन्टी, कलैया घटनाको बैज्ञानिक अनुसन्धान, पीडितलाई राहत, पूर्वघटनाका दोषीलाई सार्वजनिक गर्ने र नगरक्षेत्रभित्र सीसीटीभी क्यामेरा जडान गर्ने माग पूरा गर्न स्थानीय प्रशासनलाई कुनै ठुलो पहाड खसेझै छैन् ।’
सचिव साहले भने ‘मुलरुपमा फासीको सजायका लागि कानुन बनाउने प्रतिबद्धता आए पनि हामी बार्तामा आउन तयार छौं, गृहमन्त्रीको राजीनामा नैतिकताको आधारमा मागिएको हो, त्यसको निर्णय गृहमन्त्रीकै हुन्छ ।’
मृतक वालिकाका पिताको गुनासो
सरकारले कलैयाका पीडितलाई राहत उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन दिए पनि स्थानीय प्रशासनबाट त्यस्तो कुनै पनि प्रयास नभएको मृतक बालिकाका बुबाले बताए ।
कलैयासहित वरपरका क्षेत्रमा श्रृखंलाबद्ध तरिकाले बालबालिकाको अपहरण, बलात्कार तथा हत्याका घटना बढदै गएकाले माग पूरा नहुन्जेल छोरीको दाहसंस्कार नगर्ने उनले बताए ।

आन्दोलनकारीहरुको ब्यानरसँगै अर्को एउटा ब्यानर पनि छ । सभासद विश्वेन्द्र पासवानको फोटोसहितको ब्यानरमा ‘अन्धा सरकार मूदार्वाद’ लेखिएको छ ।
श्रोत : onlinekhabar.com
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nponnews - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger